जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १५:१४

फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय नगर्ने प्रधानमन्त्रीको घोषणा


काठमाडौं, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताउनु भएको छ ।

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराउनु भएको हो ।

‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ,’ उपाध्यक्ष कृष्णबहादुर महराले भन्नुभयो । रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उहाँको सांसद पद खारेज गरिदिएको थियो । त्यसपछि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त हुनुभएको थियो ।

गत आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखिरहनु भएको छ तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्नुभएको छ । आज बिहान भएको छलफलमा समेत प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय रास्वपालाई दिन नसकिने बताउनु भएको थियो ।