जनता टाइम्स

१८ माघ २०७९, बुधबार १४:४५

रविको बिषयमा ओली र लिङदेनसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै बार्ता, यस्तो छ निश्कर्ष


काठमाडौं, माघ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको भागमा परेको गृह मन्त्रालयमा पुनः आफैलाई नियुक्त नगरे सरकार छाडने चेतावनी दिएपछि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङदेनसँगे आज छलफल गर्नुभएको हो ।

रास्वपाका अध्यक्ष लामिछानेले मंगलवार प्रधानमन्त्री दाहालसँग भएको भेटमा आफूलाई गृहमन्त्री नियुक्त नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको थियो भने बालुवाटारबाट सिधै बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग पनि यही भनाई दोहोर्याउनु भएको थियो । जवाफमा ओलीले आफूले प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै तत्काल आवेगमा निर्णय नलिन लामिछानेलाई सुझाउनु भएको थियो ।

प्रधानमन्त्री दाहाललाई उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहितका माओवादी नेताहरुले गृह मन्त्रालय पुनः लामिछानेलाई दिन नहुने भन्दै दवाव दिइरहनु भएको छ । सोही कारण प्रधानमन्त्री दवावमा पर्नुभएको हो ।

गृह मन्त्रालयको बिषयमा सत्ता गठबन्धनमै समस्या आउन थालेपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनलाई पालैपालो भेट गरी पछिल्लो अवस्थाबारे छलफल गर्नुभएको हो ।

गृहमन्त्री कसलाई बनाउने भन्नेमा तीव्र विवाद भइरहेका बेला गठवन्धनका तीन प्रमुख नेताबीच भेट भएको र सहजीकरणतिर पुगेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले हिजो ओलीलाई भेटेर आफूलाई गृहमा फर्काउन सहयोग माग्नुभएको थियो भने ओलीले पनि सकारात्मक जवाफ दिनुभएको थियो । आजको छलफलमा अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई असर पर्ने गरी कसैको कुरा नसुन्न र आफने सरकारलाई प्रभावकारी बनाउनेतिर ध्यान केन्द्रित गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभएको छ ।

गठबन्धन निर्माण भएको एक महिना नपुग्दै भत्काउने कांग्रेसको पासोमा फस्ने गल्ती नगर्न पनि ओलीले प्रधानमन्त्रीलाई सुझाउनु भएको छ । यस्तै उपप्रधानमन्त्रीसमेत रहनुभएका राप्रपा अध्यक्ष लिङ्देनले पनि प्रधानमन्त्रीलाई पार्टीका स्वार्थी समुहको घेरावन्दीमा परर गठबन्धनबीच मनमुटाव हुने काम नगर्न आग्रह गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्री दाहालले पनि गठबन्धनमा समस्या आउने गरी आफूले कुनै कदम नचाल्ने तर अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म रविलाई गृह मन्त्रालय दिने बिषयमा परामर्शमै रहेको बताउनु भएको छ ।