जनता टाइम्स

१८ माघ २०७९, बुधबार १९:०७

सरकारको मुख्य प्राथमिकताबारे एमाले अध्यक्ष ओलीसँग बेलायती राजदूतको जिज्ञासा, यस्तो छ जवाफ


काठमाडौं,माघ १८। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य वेलायतका राजदूत निकोला काथ्रिन पोलिटले शिष्टाचार भेट गर्नुभएको छ ।

नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको सदियौंदेखिको सम्बन्ध, आपसी हित र सहयोगका विषयमा कुराकानी भएको थियो । भेटमा राजदूत पोलिटले वर्तमान सरकार र सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो दल नेकपा (एमाले) को प्राथमिकताका विषयका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष ओलीले वर्तमान सरकार न्यूनतम साझा कार्यक्रमका आधारमा अगाडि बढ्ने जानकारी गराउँदै देशको विकास, सुशासन र जनताको जीवनस्तर उठाउने विषय वर्तमान सरकार र आफ्नो पार्टीका प्राथमिकताका विषय भएको बताउनुभएको थियो । अध्यक्ष ओलीले न्यूनतम साझा कार्यक्रममा ती विषयहरू रहेको वताउँदै कार्यान्वयनका लागि राजनीतिक स्थायित्वमा आफूहरूको जोड रहेको जानकारी गराउनुभयो ।

अध्यक्ष ओलीले नेपाल र संयुक्त अधिराज्य वेलायतबीच दुईसय बर्ष अघिदेखिको सम्बन्ध र आपसी सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदान लगायत विषयहरू स्मरण गर्दै वेलायतले विगतमा नेपालको शिक्षा, आर्थिक विकास र पूर्वाधार क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।

उहाँले गरिबी निवारणमा नेपाललाई वेलायत सरकारको साथ र सहयोगको विश्वास व्यक्त गर्नुभयो । भेटमा ब्रिटिस गोर्खा सैनिकका विषयमा पनि कुराकानी भएको अध्यक्ष ओलीको साथमा रहनुभएकी नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव डाक्टर अन्जान शाक्यले वताउनुभयो ।