जनता टाइम्स

१९ माघ २०७९, बिहीबार ०६:४४

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, १९ माघ । भारतबाट इन्धनको मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बुधबार पठाएको नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेल प्रतिलिटर सात रुपियाँ ९८ पैसा मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । यस्तै मट्टीतेलको मूल्य प्रतिलिटरमा चार रुपियाँ ८० पैसा र हवाई इन्धन लिटरमै सात रुपियाँ ५० पैसा मूल्य बढेर आएको छ ।

आईओसीले प्रत्येक महिनाको एक र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो एक महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । ग्यासमा प्रतिसिलिन्डर ७५ रुपियाँ मूल्य घटेको छ ।

मूल्य बढेर आएर पनि हालका लागि यथावत् राखिने निगमले जनाएको छ । नयाँ मूल्य बढेर आएकाले आगामी १५ दिनमा आठ करोड ४१ लाख रुपियाँ नोक्सानीमा जाने देखिएको निगमले जनाएको छ । यसअघि निगम नाफामा गएको थियो ।

हाल बजारमा पेट्रोल प्रतिलिटर १७५ रुपियाँ, डिजेल–मट्टीतेल १७२ रुपियाँ, हवाई इन्धन प्रतिलिटर १७० रुपियाँ र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।