जनता टाइम्स

१९ माघ २०७९, बिहीबार ११:५८

प्रधानमन्त्री भेटन फेरि बालुवाटार पुगे रवि लामिछाने


काठमाडौं, माघ १९ । नागरिकता बिवादमा सर्वाेच्चको फैसलाले उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमाउनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गर्नुभएको छ ।

रास्वपा अध्यक्ष लामिछाने आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग छलफल गर्नुभएको हो । राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दावी पेश गर्नुअघि गत पुस १० गते नेकपा एमालेका अध्यष केपी शर्मा ओलीको निवास बालकोटमा भएको सहमतिअनुसार गृह मन्त्रालय आफैले पाउनुपर्ने अडानमा रहनुभएका लामिछानेलाई प्रधानमन्त्रीले स्वार्थ मिल्ने मन्त्रालय दिन नसक्ने बताउनु भएको छ ।

प्रधानमन्त्रीको सो अडानपछि बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएका लामिछानेले आज प्रधानमन्त्री दाहालसँग पुन भेट गर्नुभएको हो । बालकोट र बालुवाटार पुगेर गृह मन्त्रालयको जिम्मेवारी पुनः प्रदान गर्न आग्रह गर्नुभएको थियो । उहाँले आजपनि प्रधानमन्त्री दाहालसँग पुरानै आग्रह गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्री दाहालले अघिल्लो भेटमा जस्तै आज पनि सर्वोच्च अदालत संवैधानिक इजलासको आदेशको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको जिम्मेवारीबारे कुनै निर्णय नगर्ने बताएर पठाउनु भएको छ ।

प्रधानमन्त्री दाहालले यसअघि सत्ता गठबन्धनका प्रमुख दल एमालेका अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनसँग् पनि रविको बिषयमा छलफल गर्नुभएको छ । तर माओवादी पार्टीबाटै रविलाई गृह मन्त्रालय दिन नहुने अडान आएपछि प्रधानमन्त्री सो बिषयमा झनझन कठोर बन्नुभएको पाइएको छ ।