जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १५:२२

नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य चौधरी पक्राउ


काठमाडौं, माघ १९ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसद चौधरीलाई आज बाँकेबाट प्रहरीले पक्राउ गरेको हो । ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘कोहलपुरबाट पक्राउ गरेर जिल्ला अदालत कैलालीतर्फ लगिएको छ । अदालतको आदेश अनुसारको सजाय नै नभोगी चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा चुनाव जित्नुभएको थियो ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिनुभएको थियो । उहाँले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी पनि गर्नुभएको थियो ।

चालक साजन चौधरीले आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान अदालतमा दिएपछि दोषी ठहर गरिएको थियो । जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालीन मुलुकी ऐन बमोजिम मुद्दा परे पनि आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन् ।

जिल्ला अदालतले ‘कसूर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गर्यो र उनीहरुलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसूर गरेको ठहर गरेको हो ।

२०७० बैशाख ९ गते नै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीलाई ६/६ महिनाको दरले कैद सजाय तोकिएको थियो । क्षति भएको ८ लाख १९ हजार रुपैयाँ तीन जनाबाट भराउने आदेश भएको थियो ।

फैसला भएको एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको थियो । सोही आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।