जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १८:५२

स्वास्थ्यमन्त्री गिरीको निर्देशन : खरिद प्रक्रिया पारदर्सी होस, अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा एप्समा हेर्न सकियोस


काठमाडौं, माघ १९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियालाई पारदर्शी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । स्वास्थ्य सेवा विभागको अनुगमन गर्दै आज प्रेस ब्रिफिङमा मन्त्री गिरीले खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिनुभएको हो ।

’खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको छ । यसलाई पारदर्शी बनाएर काम गर्नुहोला,’ मन्त्री गिरीले भन्नुभयो ।देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरु प्रयोगविहीन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन पनि आवश्यक रहेको बताउनु भयो ।

’उपकरणहरु यहाँबाट विभिन्न ठाउँमा पठाएका छौं । तलबाट माग भएर आएअनुसार खरिद गरिएको हुन्छ । त्यो कुन अवस्थामा छ ? कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। नेपाली जनताले आफ्नो पसिनाको कमाइबाट तिरेको राजस्वबाट हामीले किनेका सामग्री त्यसरी अलपत्र हुनु हुँदैन । यसतर्फ सजग रहनुस,’ मन्त्री गिरीको निर्देशन थियो ।

उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको भ्रमणपछि उनले प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोज ल्याउनेबारे योजना बनाउनुपर्ने पनि बताउनु भयो । यस्तै स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनुपर्ने उहाँको भनाइ थियो ।

’घरमा बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा सहजै एप्समा हेर्न सकियोस । सबै कुरा डिजिटलाईज हुनुपर्छ,’ मन्त्री गिरीले भन्नुभयो । मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको भन्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराउनु भयो ।