जनता टाइम्स

२० माघ २०७९, शुक्रबार १७:३०

गम्भीर अवस्थामा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री


सिन्धुपाल्चोक, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा गम्भीर समस्या रहेको बताउनुभएको छ । आज दिउँसो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गम्भीर अवस्थामा रहेको देशको अर्थतन्त्र सुधार्ने अठोट लिएको बताउनुभएको हो ।

‘आफुले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको छु । मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु,’ उहाँले भन्नुभयो, ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ ।’

संसदबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएको बताउँदै उनले प्रतिनिधिसभाबाट आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त स्मरण गराउनुभयो ।

सांसदबाट पाएको विश्वास आफ्नो लागि निकै ठूलो जिम्मेवारी र चुनौती पनि रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्ने कार्यमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । विकास र समृद्धि प्राप्तिमा देखिएका चुनौतीको सामना गर्न आमजनता र छिमेकी राष्ट्रको सहयोग आवश्यक पर्ने भन्दै उहाँले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने पनि बताउनुभयो ।

चीनको एक अर्बभन्दा बढी लागतमा र्निर्मित रत्नराज्य माध्यमिक विद्यालयको अत्याधुनिक सुविधायुक्त ६ वटा भवन निर्माण भएको चिनिया राजदूत होउ चेन सोङले बताउनुभयो । राजदुत सोङले नेपाल सरकारलाई र नेपाल सरकारले विद्यालयको भवन आज समुदायलाई हस्तान्तरण गर्नुभएको हो । भवन निर्माणमा बालुवा, गिटी र ढुंगा मात्रै नेपालको छ । अन्य सबै चीनबाटै ल्याएर चिनियाँ मजदुरबाट निर्माण गरिएको हो ।