जनता टाइम्स

२१ माघ २०७९, शनिबार १८:३३

माओवादीको यो निर्णयसँगै तुहियो राष्ट्रपति लिने कांग्रेसको सपना


काठमाडौं, माघ २१ । सत्तारुढ नेकपा माओवादी केन्द्र अन्ततः सत्ता गठबन्धनकै पक्षमा उभिएको छ । नेपाली कांग्रेसले पनि बिश्वासको मत दिएकाले उसलाई सत्ता गठबन्धनमा समेटने प्रयाश अघि बढाएको माओवादीले स्थायी कमिटी बैठकबाट ‘राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने, राष्ट्रिय सहमति हुन नसके विचार मिल्ने (एमाले नेतृत्वको सत्ता गठबन्धन) सँगै सहकार्य गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आज बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रपति निर्वाचनबारे चर्चा गर्दै यस्तो निर्णय गरेको छ । माओवादीको यो निर्णयसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई षडयन्त्रमा पारेर सत्ता गठबन्धन भत्काउने नेपाली कांग्रेसको योजना बिफल भएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने, सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।

सत्ता साझेदार दल एमालेलाई चिढ्याउन आफूहरूले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको पनि उहाँले बताउनु भयो । ‘राष्ट्रपति निर्वाचनमा सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौं । सबै पक्षसँग हामी खुला छौं, प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔं भनेर अघि बढ्ने कुरा राम्रो हो,’ पौडेलले भने, ’गृहमन्त्रीको बारेमा केही कुरा भएन, नयाँ शिराबाट नयाँ ढंगले अघि बढ्नेछौं,’ पौडेलले भन्नुभयो, ‘एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौं भन्ने हो । समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समय पछि उहाँहरु के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ ।’

राष्ट्रपतिको निर्वाचन फागुन २५ गतेका लागि तोकिएको छ । सत्ता गठबन्धनबीच राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि खुला रहने निर्णय भने माओवादीले गरेको छ । यस्को अर्थ सत्ता गठबन्धनको उम्मेदवारलाई कांग्रेसले समर्थन गरेको अवस्थामा राष्ट्रिय सहमति जुटने भन्ने रहेको अर्का नेताले बताए ।

‘हामीले प्रष्टै भनेका हो, राष्ट्रपतिमा कांग्रेसले सघायो भने राष्ट्रिय सहमति, मानेनन भने सत्ता गठबन्धनकै उम्मेदवार भन्ने कुरा, यस्मा अलिकत्ति पनि दायाँबार्या छैन,’ निर्णयको अन्तर्य खोल्दै ती नेताले जनताटाइम्स डटकमसँग भने । उनका अनुसार कांग्रेससहित देसी बिदेसीको षडयन्त्र बुझेर यस्तो निर्णय गरिएको हो । आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल भएन ।