जनता टाइम्स

२१ माघ २०७९, शनिबार २३:५०

रास्वपा बैठक निष्कर्षविहीन, आइतबार फेरि बस्ने


काठमाडौं,२१ माघ । रास्वपाको निर्णायक भनिएको बैठक आइतबार पुनः बस्ने गर िस्थगित भएको छ । बैठकपछि पार्टीका मुख्य सचेतक सन्तोष परियारले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको र शनिबारको बैठकले कुनै निर्णय गर्न नसकेको बताए । उनले आइतबार बिहान साढे ११ बजे अर्को बैठक बसेर आवश्यक निर्णय गर्ने बताए ।

शनिबार पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिन लाग्न बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भएको हो । रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् ।

शनिबारै गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका थिए । रास्वपाका सभापति रवि लामिछानेले शुक्रबार एमाले अध्यक्ष ओली र शनिबार प्रचण्डसँग छलफल गरेका थिए । छलफलमा दुबै नेताले रविलाई आफै सरकारमा नजान प्रस्ताव गरेको र गृह बाहेकको मन्त्रालय लिन पनि भनिएको बताइएको छ । यसमा रविले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ फर्काएका थिए ।

तत्काल सरकारबाट बाहिरिनुभन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने आवाज पार्टीका बहुमत सदस्यको रहेकाले रविले सुरुमा आफू निकटकासँग आन्तरिक छलफल गरेका थिए । पार्टीको बैठकबाट यसबारे औपचारिक निर्णय गर्ने रास्वपाको तयारी छ ।