जनता टाइम्स

२२ माघ २०७९, आईतवार १७:३४

रवि लामिछानेसँग फेरि कुरा गर्छु, सत्ता गठबन्धनको एकता जसरी पनि जोगाउँछु : प्रधानमन्त्री


काठमाडौं, माघ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताउनु भएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो । आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताउनु भयो ।

‘राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो कुरा, अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई केही असहज त भएकै थियो । अब उहाँसँग (रवि लामिछानेसँँग) फेरि भेटेर कुरा गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको बताउनु भयो । ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुनेँ। बिहान उहाँसँग (रवि लामिछानेसँग) भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन, मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं,’ प्रधानमन्त्रीले भन्नुभयो ।