काठमाडौं, माघ २३ । प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नुभएको छ । अबुधाबीमा भोलिदेखि अर्थात माघ २४ देखि २६ गतेसम्म संचालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) नेपालका प्रमुख समेत रहनुभएका आईजीपी सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा पनि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । महानिरीक्षक सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नुभएको छ ।
त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा छलफल हुने कार्यक्रम छ।

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन्। आइजीपी सिंहले थापालाई कामू प्रहरी महानिरीक्षकको जिम्मेवारी तोक्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्