जनता टाइम्स

२४ माघ २०७९, मंगलवार १३:३५

प्रचण्ड–ओलीबीच डेढ घण्टा बर्ता, यस्तो छ सहमति


काठमाडौं, माघ २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहाल र ओलीबीच आज गम्भीर छलफल भएको हो ।भेटमा दुवै नेताले बर्तमान सत्ता गठबन्धन टुटाउन नहुने साझा निश्कर्षसहित अन्य दलसँग पनि छलफलसहित सहकार्य गर्दै अघि बढने निचोड निकाल्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा सरकार सञ्चालन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते र उपराष्ट्रपति निर्वाचन चैत ५ गते हुँदैछ । सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । राष्ट्रपति निवासमा प्रधानमन्त्रीको दावी पेश गर्नुअघि ओली निवास बालकोटमा यस्तो सहमति भएको हो । तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि एमाले सशंकित छ ।

प्रधानमन्त्री दाहालले आजको छलफलमा राष्ट्रिय सहमतिको अर्थ सत्ता गठबन्धनको सहमतिलाई प्रतिपक्षी दललेपनि सहमति जनाउन सक्ने बिषय रहेको बताउनु भएको छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटमा आज निकै सकारात्मक कुराकानी भएको दुवै नेताको सचिवालयले जनाएको छ ।

आजको छलफलमा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले समेत सत्ता गठबन्धनले अगाडि बढाएको राष्ट्रपतिको उम्मेदवारलाई मतदान गरोस भन्ने पवित्र उदेश्यसहित राष्ट्रिय सहमतिको कुरा गरेको भन्दै कांग्रेसलाई राष्ट्रपति दिन नसकिने बताउनु भएको जनताटाइम्स डटकमलाई बालुवाटार स्रोतले जनाएको छ ।

‘देउवाजी कम्युनिष्टलाई राष्ट्रपति स्वीकार्न सकिन्न भन्दै हिडनु भएको छ, हामी चाँहि कसरी कांग्रेसलाई राष्ट्रपति स्वीकार गर्न सकिन्छ र ? त्यसैले सत्ता गठबन्धनबाटै राष्ट्रपति हुने हो, कांग्रेसले मलाई बिश्वासको मत दिए जस्तै राष्ट्रपतिमा पनि सहमत होस र राष्ट्रिय सहमति जुटोस भन्ने चाहना मात्रै हो,’ ओलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डको भनाई उधृत गर्दै जनताटाइम्स डटकमसँग बालुवाटार स्रोतले भन्यो ।

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गर्दा देउवाले बिश्वासको मतको सट्टामा राष्ट्रपति चाहिने बताउनु भएको थियो । त्यसबेला प्रधानमन्त्री दाहाल केही नबोलेपछि संसंकित बन्नुभएका एमाले अध्यक्ष ओलीले आज बालुवाटारमा गम्भीर छलफल गर्नुभएको हो ।

दुई नेताबीचको आजको छलफल सत्ता गठबन्धनबिरुद्ध भइरहेको घेरावन्दी चिर्दै अघि बढने सहमति जुटेको छ । यद्यपी दुवै नेताको सचिवालयले आजको भेट गोप्य राख्ने प्रयाश गर्दै यसअघि कायम राखिएको तस्विर सार्वजनिक गर्ने क्रममा ब्रेक लगाएको छ । दुई नेताबीच आज झण्डै डेढ घण्टा बार्ता भएको छ ।