जनता टाइम्स

२५ माघ २०७९, बुधबार १८:११

कम्युनिष्टहरूमा एकता अहिलेको आवश्यकता : मन्त्री श्रेष्ठ


महोत्तरी, २६ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफूले मन्त्री बनेदेखी नै सम्बन्धित क्षेत्रमा सुशासन स्थापित गर्न लागिपरेको बताउनुभएको छ । महोत्तरीस्थित बर्दिबासमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विकासको मुख्य मेरूदण्डको रुपमा रहेको सुशासन स्थापित गर्न आफू लागिपरेको बताउनुभएको हो ।

यातायात र भौतिक पूर्वाधारको क्षेत्रमा चरम बेथिति रहेको स्वीकार्दै उहाँले सुशासन स्थापनासँगै यसको सावधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । नेपालमा वैचारिक र सांस्कृतिक अवस्था स्खलित भएको हुनाले कम्युनिष्टहरू उपभोक्तावादको शिकार भएको उहाँले बताउनुभयो ।

माओवादी केन्द्रमासमेत वैचारिक संकट रहेको स्वीकार गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएको श्रेष्ठले भन्नुभयो, ‘ कम्युनिष्ट आन्दोलनलाई जीवन्त बनाइराख्न रुपान्तरण गर्दै पुनःगठनको प्रक्रियामा लैजानुपर्छ ।’ वैचारिक र सांस्कृतिक अवस्थालाई मध्यनजर गर्दै मन्त्री श्रेष्ठले कम्युनिष्टहरूमा एकताको आवश्यकता रहेको औँल्याउनुभयो ।