जनता टाइम्स

२५ माघ २०७९, बुधबार १८:४३

महुरे–राजापानी सडक : ढिलासुस्ती गर्ने ठेकेदारलाई १३ लाख ९९ हजार जरिवाना


खोटाङ, २५ माघ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–सिमपानी (राजापानी) सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई जरिवाना गरिएको छ । महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीलाई निर्धारित समयमा निर्धारित काम गर्न नसकेकामा जरिवाना गरिएको हो ।

पछिल्लोपल्ट भ्याटसहित ३२ लाख पाँच हजार ५०२ रुपैयाँको बिल पेश गरेको निर्माण कम्पनीलाई १३ लाख ९९ हजार ७१९ रुपैयाँ जरिवाना स्वरुप कटाएर भुक्तानी दिइएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका सुचना अधिकारी इन्जिनियर प्रभातकिरण राईले बताउनुभयो ।

गत मंसिर अन्तिमसम्ममा महुरेदेखि बुईपाको पञ्चरदोबाटोसम्मको ६.५ किलोमिटर पिच गर्न नसकेपछि पुस १ गतेदेखि निर्माण कम्पनीलाई दैनिक जरिवाना गर्न थालिएको हो । भारत कन्ट्रक्सनरसिद्धी शाहीले १४ दिनको जरिवाना तिरेको हो । निर्माण कम्पनीलाई पुसदेखि दैनिक एक लाखको हाराहारीमा जरिवाना लगाउन सुरु गरिएको इन्जिनियर राईले बताउनुभयो ।

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।