जनता टाइम्स

३ फाल्गुन २०७९, बुधबार १०:४४

अखिल अध्यक्षमा ४ जना आकांक्षी, यी हुन पदाधिकारीका दावेदार


काठमाडौं, फागुन ३ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको मंगलबारबाट सुरु २३ औं राष्ट्रिय महाधिवेशनमा ४ जना विद्यार्थी नेताले अध्यक्षमा दाबी गरेका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर उदघाटन गर्नुभएको महाधिवेशनमा अध्यक्षमा ४ जना, महासचिवमा ६ र सचिवमा २० जनाभन्दा बढीको दाबी दखिएको छ । त्यसैगरी ४ उपाध्यक्षका लागि १५ जना आकांक्षी छन । देशभरका क्याम्पस तथा भूगोल कमिटीबाट छानिएर आएका १ हजार ५ सय ८८ प्रतिनिधिले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन ।

अनेरास्वबियुको अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी देखिएको छ । लामिछाने वरिष्ठ उपाध्यक्ष, निरौला र विक उपाध्यक्ष तथा बडाल बिघटित केन्द्रीय समितिका महासचिव हुनुहुन्छ ।

यस्तै उपाध्यक्षमा प्रकाश भुजेल, तपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी रहेको छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ । अखिलमा नयाँ बिधानअनुसार महिला, १ समावेशी र ६ खुला सचिव गरी १० सचिव छनोट हुनेछन । महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

५ सय ३५ सदस्यीय आयोजक कमिटी रहेको अखिलमा महाधिवेशनबाट १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । अखिलको बन्दसत्र सञ्चालनका लागि निवर्तमान कमिटी भंग गरी एमाले स्थायी समितिका सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल अध्यक्ष रहेको ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ अध्यक्षमण्डलमा खिमलाल भट्टराई, विनोद ढकाल, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, रचना खड्का, ऐन महर, सुनिता बराल हुनुहुन्छ ।