जनता टाइम्स

३ फाल्गुन २०७९, बुधबार १४:३४

धरानका मेयर हर्क साम्पाङ खोटाङमा, साम्पाङ राईको उद्गमस्थलको अवलोकन


खोटाङ, ३ फागुन । धरानका मेयर हर्क साम्पाङले खोटाङमा साम्पाङ राईको ऐतिहासिक उद्गमस्थल अवलोकन गर्नुभएको छ । मेयर साम्पाङले केपिलासगढी गाउँपालिका–३ बासपानीको खोक्मास्थित साम्पाङ राईको उद्गम थलो खकलुङ, साम्फेलुङ र खकलुङ कुवा अवलोकन गर्नुभएको हो । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेस्थित घर पुगेकाबेला मेयर साम्पाङले खकलुङ पुगेर साम्पाङ राईको उद्गम थलो अवलोकन गर्नुभएको हो ।

सम्पाङ राईको ऐतिहासिक स्थल खकलुङलाई फुपालुङ (बाजेढुंगा) र मुमालुङ (बोजुढुंगा) भनेर पनि चिन्ने गरिन्छ । साम्पाङ राईको पुर्खाले साम्फेलुङमा पहिलो पाइला टेकेको, खकलुङमा बसोबास गरेको र सोही ठाउँको कुवाको पानी पिएको किंवदन्ती रहेको किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङका अध्यक्ष प्रताप राईले बताउनुभयो ।

मेयर साम्पाङले खोक्मास्थित किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङको कार्यालयमा जुम्लेखाको झण्डोत्तलन गर्नुभयो । मेयर साम्पाङले साम्पाङ राईको उद्गम थलो खकलुङ (बासपानी) को विकासका लागि लागिपर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मेयर साम्पाङलाई किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ, यायोक्खाको केपिलासगढी गाउँपालिका कमिटी र किरात साम्पाङ राई जुम्लेखा खोटाङले गाउँमा स्वागत गर्नुका साथै सम्मान गरेको छ । साम्पाङलाई कदर–पत्र र मायाँको चिनो स्वरुप चिन्डो प्रदान गरेर सम्मान गरिएको हो ।

केपिलासगढी गाउँपालिकाले आज मेयर साम्पाङलाई कार्यालयमा स्वागत गरेको छ । उहाँलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई लगायतले खादा ओढाएर स्वागत गर्नुभएको थियो । जन्मथलो जानेक्रममा मेयर साम्पाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउण्डेसन पनि भिजिट गर्नुभएको थियो ।