धनगढी, फागुन ५ । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बर्तमान सत्ता गठबन्धन ५ बर्ष नै जाने ठोकुवा गर्नुभएको छ । नेकपा एमालेले पार्टीका संगठन सुदृढीकरणका लागि शुक्रबाट सुरु गरेको ‘मिशन ग्रासरुट’ अभियानको सुदूरपश्चिममा उदघाटन गर्दै एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।
अहिलेको सहयात्रा काँचो धागोमा अडिएको सहयात्रा नभएको उहाँको भनाई छ । ‘यो सहयात्रा बडो सुझबुझका साथ सुरु गरिएको हो । यसको पृष्ठभूमिमा जस्ता, नीतिगत कार्यक्रम र अवधारणाहरु प्रस्तुत गरिएका छन्, त्यसले गर्दा काँचो धागोमा अडिएको सहयात्रा होइन, यो सहयात्रा पाँचवर्ष सम्म चल्छ,’ पौडेलले भन्नुभयो ।
पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पूर्वसहमति नै लागू हुने पनि बताउनु भयो । ‘पूर्वसहमतिअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुन्छ । बाहिर के हल्ला चल्छ भन्नेमा मिडियाले लाग्नु हुँदैन। हल्लाको समाचार कसैले बनाउनु हुँदैन,’ पौडेलले भन्नुभयो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७ वटै प्रदेशमा भर्चुअल माध्यामबाट ‘मिशन ग्रासरुट अभियानको सुरुवात गरेपछि, सातवटै प्रदेशमा तोकिएका नेताहरूले पनि प्रदेश कार्यक्रमहरूको उद्घाटन गरेका थिए। उपाध्यक्ष पौडेलललाई पार्टीले अभियानका लागि सुदूरपश्चिम खटाएको छ ।
पौडेलले दुई महिनाको अभियानको समिक्षापछि, नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अब्बल आउने विश्वास ब्यक्त गर्नुभयो । नेकपा एमालेका प्रदेश अध्यक्ष तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसहित केन्द्रीय सदस्यहरू, प्रदेश पदाधीकारीहरू, भातृसंगठनका अध्यक्ष र इञ्चार्जहरू कार्यक्रममा सहभागी थिए ।
आजै उपप्रधान तथा अर्थमन्त्री पौडेललाई कैलाली उद्योग वाणिज्य संघले पनि ब्यापारीका समस्याहरुका बारेमा ज्ञापन बुझाएका थिए ।उनीहरूले, बैंकका ऋणलाई पुर्नकिस्ता गरिदिनुपर्ने, आयात निर्यातमा सहजता र बैंकको चर्को ब्याजदर घटाउन माग गरे । ज्ञापन बुझ्दै पौडेलले बैंको ब्याजदर घटाउन र ब्यवसायीका समस्याहरूका बारेमा आफू संवेदनशील रहेको बताउँदै छिट्टै समाधानतिर जाने बताउनु भयो ।
‘धेरै कुराहरू लयमा पनि आउन थालेका छन्। अहिलेको आर्थिक अवस्था भनेको छोटो सिरक ओढेजस्तै छ । टाउको छोपौं खुट्टा नाँगै हुने, खुट्टा छोपौं टाउको नाँगै हुने। त्यसैले सबैले खुट्टा खुम्चाएर सुत्नुको विकल्प तत्काल छैन। यो सरकार, पार्टी, जनता, ब्यवसायी सबैको समस्या हो। यसमा सबैले साथ दिएर समाधान खोज्नुपर्छ,’ पौडेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्