जनता टाइम्स

२ भाद्र २०७६, सोमबार ०७:१४

भोटेकोशीमा आएको बाढीले पुल बगायो, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह


रसुवा ,  भदौ  २  – आइतबार राति आएको बाढीले रसुवास्थित भोटेकोशी नदीको बेलिब्रिज बगाएको छ । बाढीले रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने बेलिब्रिज बगाएको हो ।

भोटेकोशी नदीमा बाढी आएपछि उत्तरगया गाउँपालिका–१, मैलुङ तथा वडा नम्बर ५ खाल्टे बगर क्षेत्रका स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।

भोटेकोशीमा पानीको वहाव बढेपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर राति नै बाहिरिएका थिए । भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको हो ।

भोटेकोशीको बाढीले टिमुरेस्थित भन्सार कार्यालय नजिक रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको छ । पानीको बहाव बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय परिसरमा राखिएका करीब २५० मालवाहक कन्टेनर सुरक्षित स्थानमा लैजान चालक लागिपरेका प्रमुख भन्सार अधिकृत पूण्यविक्रम खड्काले जानकारी दिनुभयो । सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार भोटेकोशीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।