जनता टाइम्स

९ फाल्गुन २०७९, मंगलवार १६:२५

स्वास्थ्य सेवालाई सुदृढ बनाउन तीनै तहको सरकारले बिशेष ध्यान दिनुपर्छ : राष्ट्रपति


हेटौंडा, फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउन तीनै तहको सकारले ध्यान दिनुपर्ने बताउनु भएको छ । मंगलबार हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको स्वास्थ्य भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।

‘बेला बखत महामारीको रुपमा आउने कोभिड, डेंगु जस्ता महामारीसँग जुध्न सार्वजनिक स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउनुपर्छ,’ राष्ट्रपति भण्डारीले भन्नुभयो । उहाँले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले गुणस्तीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउनु पर्नेमा भण्डारीले जोड दिनुभयो।

स्वस्थ नागरिक उत्पादनको लागि विद्यार्थी तहदेखि नै बालबालिकालाई हेरचाहसहित पोशणयुक्त खाना खुवाउनुपर्ने उनले बताइन्। स्वास्थ्य सेवा र शिक्षाको लागि ठूलो मात्रामा विदेश पलायन भइरहेको पुँजिलाई रोक्न स्वदेशमै गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा यस प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बिश्वास राष्ट्रपति भण्डारीको छ।

कार्यक्रममा बोल्दै बागमति प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम क्षेत्रहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रतिष्ठानले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। ‘प्रदेश सरकारले प्रदेशभित्र राम्रो स्वास्थ्य शैक्षिक प्रतिष्ठान बनाउने उदेश्यले यो प्रतिष्ठान निर्माण गरेका हो, दुर दराजमा पनि स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय बनाउन हामीले काम गरिरहेका छौं,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले प्रतिष्ठानको काम र अपेक्षाबारे आफ्नो धारणा राख्नुभयो । प्रतिष्ठानका उपकुलपति प्राडा. विश्वराज जोशीले प्रदेशको स्वास्थ्य र शैक्षिक गन्तब्य हेटौंडालाई बनाउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका बिश्वास ब्यक्त गर्नुभयो ।

नयाँ भवन निर्माण गरेर प्रतिष्ठानले हेटौंडा अस्पतालालाई ५० बेडबाट १५० मा स्तरोन्ननी गरेको छ। संघीय सरकारको ३५ करोड सहयोगमा प्रतिष्ठानले ७० बेडको नयाँ भवन निर्माण गरेको हो।