काठमाडौं, फागुन ९ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटेरै लोसपाका नेताहरुले अध्यक्ष ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव राख्नुभएको हो ।राष्ट्रपति बनाउने मागसहित लोसपाका ठाकुर आज नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुग्नुभएको हो ।
’प्रधानमन्त्रीजीले राष्ट्रपतिमा सहमतिको उम्मेदवार चाहिन्छ भन्नुभएको छ । त्यै सम्बन्धमा हामी प्रधानमन्त्रीलाई भेट्न गएका थियौं । प्रधानमन्त्रीलाई हामीले राष्ट्रपतिको उम्मेदवारी राष्ट्रिय सहमतिको गर्ने राम्रो विचार हो, अहिलेको अवस्थामा राष्ट्रिय सहमतिकै उम्मेदवार उपयुक्त हुन्छ । हामीलाई तपाईंको विचार उपयुक्त लागेको छ र यो राष्ट्रिय सहमतिको पात्र महन्थ ठाकुर पनि हुन सक्नुहुन्छ भन्यौं । ठाकुरको नाउँमा सहमति गराउन सजिलो होला कि भनेर हामीले उहाँलाई आग्रह गरेका थियौं,’ भेटबारे महतोले भन्नुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री दाहालले राष्ट्रपतिका लागि ठाकुर पनि उपयुक्त पात्र भएको जवाफ दिनुभएको छ । ’ठाकुर राष्ट्रिय सहमतिको उम्मेदवार होइन कि उपयुक्त पात्र हो र सबैले भनिरहेको हो भन्ने उहाँको जवाफ थियो । तपाईंहरूले नयाँ कुरा भनिराख्नुभएको होइन, सबैलाई थाहा भएकै कुरा हो भन्नुभएको हो,’ उहाँको भनाई उधृत गर्दै महतोले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्छ भन्ने धारणा दोहोर्याएको पनि महतोले बताउनुभयो । प्रधानमन्त्री दाहालले हालसम्म कसैको पनि नाम नलिएको र आफू सल्लाहमा नै रहेको जवाफ लोसपाका नेताहरूलाई दिनुभएको छ । ’राष्ट्रपतिमा मैले कसैको नाउँ किटानसहित भनेको छैन । सबैसँग सल्लाह गरिराखेको छु । राष्ट्रिय सहमतिका लागि कांग्रेस र एमालेसँग कुरा गरिरहेको छु । कसैबारे निर्णय गरिसकेको छैन,’ लोसपाका नेताहरुसँग प्रधानमन्त्री दाहालको भनाई थियो ।
राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । भने फागुन २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ ।













प्रतिक्रिया दिनुहोस्