जनता टाइम्स

१० फाल्गुन २०७९, बुधबार १६:२६

डिआइजी अशोक सिंहले दिए राजीनामा


काठमाडौं, फागुन १० । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिनुभएको छ । उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि सिंहले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिनुभएको हो ।

हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ । २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका सिंह नागरिकता विवाद नआएको अवस्थामा २०८१ साल चैत ५ सम्म प्रहरी सेवामा बहाल रहनुहुन्थ्यो । सिंहका ब्याजीमध्येबाट आगामी चैत ११ पछि नेतृत्वमा जान लागेको अवस्थामा त्यसअघि नै नागरिकता विवादमा मुछिएपछि राजीनामा दिएको स्रोतले बतायो ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका दाबेदार रहेका सिंह त्यसपछि भावी महानिरीक्षक बन्ने दौडमा हुनुहुन्थ्यो । २०४९ चैतमा सेवा प्रवेश गर्नुभएका हालका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहित उहाँका ब्याची सबै उच्च अधिकारी ३० वर्षे सेवा अवधि पूरा गरी चैत ११ बाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसपछि नेतृत्वमा पुग्नका लागि पहिलो नम्बरमा एआईजी बढुवा हुन चाहेका डीआईजी सिंहमाथि उमेर सच्याएर प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेको हो ।

उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध गएको गत बुधबार बागबजारका विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको थियो । अख्तियारमा परेको उजुरीको बोधार्थ मुख्यसचिव, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई पनि दिइएको थियो । त्यसपछि सिंहको सिटरोल र नागरिकतामा रहेको जन्ममिति खोजबिन गर्दा उमेर फरक–फरक भेटिएको छ ।

प्रहरी सिटरोलमा सिंहको जन्ममिति २०२५ पुस १६ उल्लेख छ । २०४२ जेठ २२ मा जारी भएको नागरिकतामा भने उमेर १८ वर्ष लेखिएको छ । सिंह २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको थियो ।। साविक सेती अञ्चल कैलाली जिल्ला निगाली गाउँ पञ्चायत स्थायी ठेगाना राखेर तत्कालीन प्रमुख जिल्ला अधिकारी देवेन्द्रभक्त श्रेष्ठले नागरिकता जारी गर्नुभएको छ ।

नागरिकताको उमेरअनुसार उहाँको जन्ममिति विसं २०२४ हुनुपर्ने हो । नागरिकतामा जन्म महिना र गते उल्लेख छैन । प्रहरी प्रधान कार्यालयका एक अधिकारी उमेरमा महिना र गते उल्लेख नभए नागरिकता जारी भएको मितिलाई नै महिना र गते मानिने बताउँछन ।

प्रहरी नियमावली २०७१ मा ‘सेवामा प्रवेश गर्दा निजले पेस गरेको नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरणमा जन्ममिति वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा उमेर हिसाब हुने’ भनिएको छ ।

वर्ष वा संवत् मात्रै उल्लेख भएमा ‘नागरिकता र शैक्षिक प्रमाणपत्र जारी भएको मितिलाई जन्मको महिना र गते कायम हुने’ भनिएको छ । तर, सिंहको सिटरोलमा नागरिकताको भन्दा फरक जन्ममिति छ । सिटरोलमा सिंहले प्रमाणपत्र र स्नातक तहमा राखेको उमेर उल्लेख गरेका छन् ।