जनता टाइम्स

११ फाल्गुन २०७९, बिहीबार १८:१०

एमालेले बोलायो सचिवालयको बैठक, यस्तो छ मुख्य एजेण्डा


काठमाडौं, फागुन ११ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । शनिवार अर्थात फागुन १३ गते बिहान बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा राष्ट्रपति चुनाव लगायत देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने छ । राष्ट्रपति चुनावका लागि फागुन १३ गते नै उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

गत पुस १० गते सरकार गठनका बेला सत्ता साझेदार दलबीच राष्ट्रपति पदमा एमाले उम्मेदवार उठाउने सहमति भएको थियो । एमाले सोही सहमति कार्यान्वयन हुनुपर्ने अडानमा रहेको छ । तर प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सहमति जुटाउने भन्दै कांग्रेससहितका नेताहरुसँग छलफलमा केन्द्रित भएपछि एमाले ससंकित बनेको छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आउनु भएको छ । नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने र त्यो उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने बताउँदै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको पुरानो गठबन्धन बिउँताउनेबारे अहिले कुनै निर्णय नभएको बताउनु भएको छ ।