जनता टाइम्स

११ फाल्गुन २०७९, बिहीबार २०:२८

प्रधानमन्त्री कांग्रेस नेतृत्वको पुरानो गठबन्धनमा फर्कन संभव छैन : अध्यक्ष ओली


भक्तपुर, फागुन ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न नसक्ने प्रष्ट बताउनु भएको छ ।

माओवादीले सहमति विपरीत कांग्रेस उम्मेदवारलाई समर्थन गर्न नमिल्ने र त्यसो नगर्ने बिश्वास अध्यक्ष ओलीले गर्नुभयो । आफ्नो जन्म दिनको अवसरमा आफ्नै निवास बालकोटमा आयोजित कार्यक्रममापछि पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले राष्ट्रपतिका विषयमा माओवादीले एमालेसँग पुस १० गते नै सहमति गरिसकेको प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल नयाँ गठबन्धन छाडेर कांग्रेस नेतृत्वको पुरानो गठबन्धनमा नजाने पनि बताउनुभयो । ‘उहाँ प्रधानमन्त्री) ले सपोर्ट गर्दै गर्नुहुन्न, गर्नै मिल्दैन, किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ,’ ओलीले भन्नुभयो ।

राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता गराउने समय नजिकिँदै जाँदा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउनु पर्ने भन्दै कांग्रेससँग नजिकिनु भएको छ । उहाँले हरेक दिन कांग्रेसका नेताहरुसँग भेटघाट गरिरहँदा अध्यक्ष ओलीले भने त्यो छलफल मात्रै भएको बताउनु भयो ।

एमालेसँगको सहमति विपरीत दाहाल कांग्रेसको उक्साहटमा लागेर पुरानो गठबन्धन ब्युँताउने प्रयत्नमा लाग्नुभएको चर्चा राजनीतिक वृत्तमा चलेको छ । ओलीले भने प्रचण्ड सहमति विपरीत नजाने र जान नसक्ने विश्वास व्यक्त गर्नुभएको हो ।