जनता टाइम्स

११ फाल्गुन २०७९, बिहीबार २२:२६

कांग्रेसको ढोक्सामा माछा नपर्ने निश्चित : माधव नेपाललाई नै राष्ट्रपति बनाउने निर्णयमा प्रधानमन्त्री


काठमाडौं, फागुन ११ । बिश्वासको मत दिएर भारतको योजनाअनुसार राष्ट्रपतिमा ढोक्सा थापेको नेपाली कांग्रेस अन्ततः जिल्ल पर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेनिर्णय गरेसँगै कांग्रेसको ढोक्सामा माछा नपर्ने प्रष्ट भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको तीन दलको बैठकले नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार साँझ राष्ट्रपति निर्वाचनबारे नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच वार्ता भएको थियो । वार्तामा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो ।

बालुवाटार स्रोतका अनुसार नेकपा एमालेले राष्ट्रपतिका लागि आवश्यक मतभारमा ‘ब्याकप’ गर्दै माधवको नाम प्रस्ताव गरेपछि उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रधानमन्त्री दाहाल तयार हुनुभएको हो । बैठकमा जसपालाई उपराष्ट्रपति दिने निर्णय पनि भएको स्रोतले बतायो ।

‘राष्ट्रपतिमा माधव नेपालको नाममा सहमति जुटेको छ, एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेपछि औपचारिक जानकारी गराउने सहमति तीन नेताबीच भएको छ, बैठकको निर्णय सुनाउँदै बालुवाटार स्रोतले जनताटाइम्स डटकमसँग भन्यो । कांग्रेसलाई धोका भयो नि यो निर्णयले त भन्ने जनताटाइम्सको जिज्ञासामा स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले राष्ट्रिय सहमति भन्नुभएको कांग्रेसलाई राष्ट्रपति भन्ने होइन, उहाँहरुको बुझाइ नै गलत थियो ।’

नेपाली कांग्रेसले बिश्वासको मत दिएर भारतको योजनाअनुसार राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा कम्युनिष्टलाई आउन नदिने योजना बनाएको थियो । जसरी पनि सत्ता गठबन्धन भत्काउने र भारतको चाहनाअनुसार कम्फर्टेवल राष्ट्रपति छान्ने कांग्रेसको योजनामा बालुवाटारको आजको निर्णयले ब्रेक लागेको छ ।

प्रधानमन्त्री दाहालले तीन दलको बैठकपछि शुक्रवार एमाले अध्यक्ष अ‍ेलीसँग छलफल गरेपछि अन्तिम निकर्षमा पुग्ने जानकारी दिनुभएको थियो ।