जनता टाइम्स

२ भाद्र २०७६, सोमबार १३:२०

स्वास्थ्य केन्द्र सञ्चालनको सेवा प्रभावकारी बनाउने जिम्मा नगरपालिकामा


स्याङ्जा, भदौ २

स्याङ्जाको गल्याङ– ३ बल्पुकमा अवस्थित गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र (अस्पताल) को सेवा प्रभावकारी बनाउने जिम्मा नगरपालिकाले लिएको छ । गल्याङ तथा आसपासका बासिन्दा उपचारका लागि तानसेन, बुटवल तथा पोखरा जानुपर्ने अवस्था अन्त्य गर्न सञ्चालन गरिएको उक्त स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा गल्याङ नगरपालिकाले लिएको हो ।

झण्डै १० वर्षअघि स्थानीयवासीबाट रु २५ लाख चन्दा सङ्कलन, बुटवल पावर कम्पनीबाट रु ४० लाख सहयोग, नेपाल सरकारबाट पटकपटकमा रु तीन करोड र भारतीय सरकारबाट रु पाँच करोड गरी करीब रु आठ करोड ६५ लाखको लागतमा स्वास्थ्य केन्द्र निर्माण गरिएको अध्यक्ष लालगोपाल अर्यालले बताउनुभयो ।

“खरिद गरिएको पन्ध्र रोपनी जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य केन्द्रबाट अझै बढी सेवा दिनुपर्ने र स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने आवश्यकता महशुस गरी यो संस्था र नगरपालिकाको संयुक्त सहकार्यमा सेवा सञ्चालन गर्न लागिएको हो ।”

पन्ध्र श्ययाको अस्पतालअनुमति पाएको यस केन्द्रको आवश्यक मापदण्ड पूरा गरी श्यया थप गरिने र सेवालाई प्रभावकारी तवरले सञ्चालन गरिने नगरप्रमुख भूपराज अधिकारीले बताउनुभयो । यो केन्द्रलाई गल्याङ सामुदायिक नगर अस्पतालका रुपमा विकास गरी यहीँमार्फत स्वास्थ्य बीमासहितको सबै प्रकारका उपचार सेवा सञ्चालन गरिने भएकाले उपचारकै लागि अन्यत्र जानुपर्ने बाध्यता हटेर जाने उहाँले जानकारी दिनुभयो ।