जनता टाइम्स

१२ फाल्गुन २०७९, शुक्रबार २०:५९

छायानाथले थाल्यो अवैध संरचना भत्काउन


मुगु १२ फागुन । छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाईएका अवैध संरचना भत्काउन सुरु गरेको छ । पटक-पटक सुचना जारी गदै सार्वजनिक जग्गा मिचेर बनाईएका संरचना हटाउन आग्रह गरेको भएपनि स्थानीयले अटेरी गरेपछि शुक्रबार छायाँनाथ रारा नगरपालिकाले आफै अवैध संरचना भत्काउन थालेको हो ।

गत असोज १४ गते पहिलो ३५ दिने सुचना जारी गदै गमगढी बजार साघुँरो भएको र सार्वजानिक जग्गा मिचेर बनाईएका संरचना घर,भरयाङ्ग, बार्दली,रेलिङ्ग,लगायत हटाउन आग्रह गरेको थियो । त्यस पछि अर्को सुचना मंसिर ९ गते र अर्को सुचना पुस २१ गते लगत्तै सर्वदलिय बैठक बसेर रेखाकंन गरेर सार्वजनिक जग्गा बनाईएका संरचनाको चिन्ह लगाउने काम गरिनुका साथै अवैध संरचना हटाउन अर्को सुचना जारी गरिएको थियो ।

फागुन ५ गते अन्तिम सुचना जारी गरेर अवैध संरचना हटाउन आग्रह गरेको भएपनि स्थानीयले कुनै चासो नराखी अटेरी गरेपछि नगरपालिका बाध्य भएर आफै संरचना भत्काउन लागेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुुख बिष्णु कुमार भामले बताउनुभयो । उहाँका अनुसार यो कार्य कुनै आग्रह पुर्वग्रह नभई सुन्दर गमगढी बजार बनाउनको लागी हो ।

सार्वजनिक जग्गा मिचेर बनाईका संरचना हटाउन बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएपछि स्थानीय प्रशासनको सहयोगमा आफै नगरपालिकाले अवैध संरचना भत्काउने काम गरेको बताउनुभयो । अहिलेलाई सार्वजानिक जग्गा मिचेर बनाईएका संरचनाहरु घर, भर्याङ, बार्दली, रेलिङ्गलगायत भत्काउने कार्य भएको छ ।

‘घरहरुको लागी पुनःसम्बन्धित घरमा १५ दिने सुचना टाँस गरेका छौं,’ उहाँले भन्नुभयो । १५ दिनसम्म पनि सार्वजनिक जग्गामा भएका घर नहटाएमा नगरपालिकाले डोजर लगाएर भत्काउने नगर प्रमुख भामको भनाई छ । गमगढी बजारमा सार्वजानिक जग्गा मिचिर बनाईएका संरचना नगरपालिकाले भत्काउन थालेपछि स्थानीय खुसि भएका छन ।

साघुँरो बजार, बजारमा आवतजावत गर्न समस्या र आगलागीको जोखिमलगायत एम्बुलेन्स दमकल बजारमा लिन समस्या हुने बजारमा सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काउन थालेपछि बजारको सडक फराकिलो भएको र अब सहज हुने भएको स्थानीय दिपेश जंङ्ग शाहीले बताउनुभयो ।

यो कार्य अघिल्लो कार्यकालमा पनि सार्वजनिक जग्गामा भएका संरचना हटाउने भन्दै रेखाकंन गरिएको थियो तर त्यो सम्भव हुन सकेको थिएन । आज अदालत चोकको छत्त रावलको घरबाट अवैध संरचना भत्काउन गरिएको र पहिलो दिन कृष्ण चोकसम्म भत्काउने कार्य भएको छ । भोली तल्लो बजारमा रहेका अवैध संरचना भत्काउने छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।