काठमाडौं, फागुन १३ । आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.–८ कोसेडीका दुई युवालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
फागुन ११ गते घरमा नै आगलागीमा परेपछि पञ्चदेवल बिनायक नगरपालिका वडा नं.–८ कोसेडी निवासी वर्ष २१ का हिमराज रोका मगर र वर्ष १९ का पिरम रोकामगर गम्भीर घाइते हुनुभएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि उहाँहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो ।
घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरम रोकामगरको ३६ प्रतिशत जलेको छ । सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष अपिल गरेका थिए ।

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएको हो ।













प्रतिक्रिया दिनुहोस्