जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार १३:५३

प्रदेश १ सरकार तत्काल राप्रपाले नछाड्ने, यस्तो छ कारण


विराटनगर, फागुन १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल प्रदेश सरकार नछाड्ने भएको छ ।

राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेपनि प्रदेश १ मा भने तत्काल सरकार नछाडने निर्णय राप्रपाले गरेको हो । संघ र बागमती प्रदेशबाट बाहिरिएको राप्रपा तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो ।

राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताउनु भयो । अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उहाँले बताउनु भयो ।
‘अन्य प्रदेशको तुलनामा प्रदेश १ विशिष्ट परिस्थितिको छ, हाम्रा कारणले अस्थिरता नहोस भन्ने चाहन्छौं,’ सिटौलाले भन्नुभयो । प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्न पार्टीको प्रदेश समितिले बैठक बोलाएको उहाँले बताउनु भयो ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजिनामा दिइसक्नु भएको छ । एमाले नेता हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारमा राप्रपाबाट सिटौला मन्त्री हुनुभएको थियो ।