जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार २०:३१

अन्तराष्ट्रिय जगतमा नेपालको बेइज्जत गर्ने अभियानमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण रोकियो


काठमाडौं, फागुन १४ । सरकारबाट एमालेको बहिर्गमन खोजिरहुनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको तय भइसकेको विदेश भ्रमण रोकिदिनु भएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठकमा भाग लिन मन्त्री पौड्याल आज जेनेभा जाने कार्यक्रम थियो । मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको थियो ।

पररराष्ट्रमन्त्रीको भ्रमण मन्त्रिपरिषदले स्वीकृत गरिसकेको थियो भने उहाँले पनि सबै तयारी गरिसक्नु भएको थियो । तर आज प्रधानमन्त्रीले पौडेललाई जेनेभा नजान मौखिक निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री रोकिनु भएको छ ।

हिजोमात्र परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर यस भ्रमणबारे जानकारी गराएको थियो । मन्त्री पौड्यालले परिषदको बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेका उपलब्धिहरुका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनु भएको थियो ।

नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्य राष्ट्र हो । तर प्रधानमन्त्रीले मन्त्रीलाई रोकेर अन्तराष्ट्रिय रुपमै नेपालको बेइज्जत गर्नुभएको हो ।