जनता टाइम्स

१६ फाल्गुन २०७९, मंगलवार १९:३५

योगेशको निश्कर्ष : पतनको बाटोमा माओवादी


कालीकोट, फागुन १६ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी २०६४ सालपछि ओरालो लाग्दै पतनको बाटोमा गएको बताउनु भएको छ ।

एमालेको ’मिसन ग्रासरुट संगठन सुदृढीकरण तथा विस्तार अभियान’को सोमबार मान्ममा उदघाटन गर्दै सचिव भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले पुष्पकमल दाहालले देशमा अस्थिरता निम्त्याएको पनि बताउनु भयो । पुस १० गते कांग्रेसले ’लात हानेपछि’ माओवादी एमालेको शरणमा आएको स्मरण गर्दै बाह्य शक्तिको दबाबमा दाहालले एमालेसँगको गठबन्धन तोडेको उहाँको भनाई छ ।

सचिव भट्टराईले नेपालमा प्रधानमन्त्रीले नै गठबन्धन टुटाउने अनौठो काम गरेको तथ्य उनि खोल्नुभयो । एमालेसँगको गठबन्धन टुटाउन प्रधानमन्त्री दाहाल आफैं अग्रसर भएको भट्टराईको भनाई छ । यस्तै माओवादीले ’जनयुद्ध’का क्रममा कतिपय घटनामा आतंककारी र मानवताविरोधी गतिविधि गरेको पनि उहाँले आरोप लगाउनु भयो ।

व्यक्ति हत्या गरी कालीकोटको पिलीमा बाटो खन्न बसेको सेनाको क्याम्पमा आक्रमण गरेर माओवादीले आतंककारी काम गरेको उहाँको भनाई थियो । अर्को प्रसंगमा सचिव भट्टराईले माओवादी सत्तामा पुग्नेबित्तिकै उपद्रो गर्ने गरेको र यसपटक परराष्टमन्त्रीको जेनेभा भ्रमण रोकेर देशको छवि नै बिगार्ने काम गरेको बताउनु भयो ।

कार्यक्रममा एमाले स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले विगतमा आफ्नै पार्टीभित्रबाट समस्या आएकाले चिरफार गर्न ’मिसन गसरुट’ अभियान संचालन गरिएको बताउनु भयो ।