जनता टाइम्स

१७ फाल्गुन २०७९, बुधबार १६:५८

पत्रकारसँगको सहमतिमै सञ्चारसँग सम्बन्धित कानून निर्माण गर्ने सभामुखको प्रतिबद्धता


काठमाडौं, फागुन १७ । सभामुख देवराज घिमिरेले सञ्चारसँग सम्बन्धित कानून निर्माणमा पत्रकारसँग छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा सभामुख घिमिरेले सञ्चारसँग सम्बन्धित कानून निर्माणमा प्रेस तथा प्रेससँग सम्बन्धित संघ संस्थासँग छलफल गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार विधेयक निर्माणमा विगतमा आफूहरुसँग छलफल नगरेको बताएपछि सभामुखले सरोकारवालासँग छलफल गर्ने बताउनुभएको हो । ‘आगामी दिनमा सञ्चारसँग सम्बन्धित ऐन निर्माण गर्दा तपाईंहरुसँग छलफल हुन्छन्,’ उहाँले भन्नुभयो, ‘नेपाली सञ्चार माध्यमको व्यवसायिकीकरणमा सभामुखको तर्फबाट मेरो साथ सहयोग रहन्छ ।’

सभामुख घिमिरेलेनेपाली सञ्चार माध्यममा खोजी रिर्पोटिङको अभाव रहेको बताउँदै सञ्चार क्षेत्रमा हुने गरेका गलत क्रियाकलाप निरुत्साहित गर्न स्वयं पत्रकारहरुको भूमिकाले निर्धारण गर्ने धारणा राख्नुभयो ।

सभामुख घिमिरेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको बताउँदै समृद्धि र विकासका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटालगायतका बक्ताहरुले प्रेसमैत्री कानून निर्माणका लागि नेपालको जनप्रतिनिधिको थलो संसदले सकारात्मक भूमिका खेल्ने अपेक्षा राख्नुभएको थियो ।