काठमाडौं, १९ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । संसदमा प्रतिनिधिहरु गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले २०४६ सालयताका भ्रष्टहरुलाई छानबिन गरी कारबाही गर्न दलहरु तयार हुनुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमतिनै गरेर अघि बढनुपर्ने बताउनुभयो ।
भ्रष्टहरुलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिवद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उहाँको भनाई थियो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा एउटा राष्टिय सहमति आज आवश्यक छ। संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरु, पदाधिकारीहरु, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीहरुबीच एउटा राष्ट्रिय सहमति गरौँ न। त्यो सहमति भनेको भ्रष्टाचार नियन्त्रण गर्ने। भ्रष्टाचारीलाई कारबाही गर्ने। कारबाही गर्नका लागि अहिले एउटा राष्ट्रिय सहमति बनाऔं ।’
अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरुलाई सशक्त बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्