जनता टाइम्स

२० फाल्गुन २०७९, शनिबार १९:१५

राजदेवी मन्दिरबाट चोरिएका गहनासहित पाँच जना पक्राउ


जनकपुर, २० फागुन । क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित राजदेवी मन्दिरबाट चोरी भएका मूर्ति तथा सुन चाँदी र पितलका गरगहना, पेस्तोललगायत हातहतियारसहित पाँच आरोपीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । फागुन १४ गते राति उक्त मन्दिरको ताल्चा फोरेर बहुमूल्य सरसामानहरु चोरी गरिएको थियो । आज पत्रकार सम्मेलन गरी चोरीमा संलग्न भनिएका व्यक्तिहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका ३७ वर्षीय रजाक मोहम्मद, विदेह नगरपालिका ४ सुन्दरपुर बस्ने २१ वर्षीय मोहम्मद हबगुल्लाह साह, सोही नपा ४ बस्ने २२ वर्षीय नर्सुद्दिन साह र ३० वर्षीय सरिफ मुसलमान तथा कमला नगरपालिका ७ बस्ने २२ वर्षीय रमेशकुमार महतो रहेको प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

आरोपीहरुको साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने १ थान गोली, १३ थान मोबाइल, ११ हजार ५ सय नगद, मूर्ति, मुकुट आदि गरी करिब २ केजी चाँदी, पूजामा प्रयोग हुने सुन चाँदीका गरगहना, भाँडा वर्तनसँगै ताल्चा फोड्न प्रयोग हुने फलामको छेनी, घन, खुकुरीलगायतका सामानहरु बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

रमदैयास्थित राजदेवी मन्दिरमा जडान गरिएको सीसी टिभी क्यामराको फुटेजको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष अनुसन्धान टोलीले शुक्रबार विदेह नगरपालिका ४ का सरिफ मुसलमानलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि सरिफकै सूचनाको आधारमा भारततर्फ भाग्दै गरेका रजाक मोहम्मद, हबगुल्लाह शाह,रमेश महतो तथा नर्सुद्दिन शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।