लमजुङ, २३ फागुन । सहरका व्याण्ड बाजाका कारण विस्थापनको जोखिममा परेको पञ्चेबाजा संरक्षणको लागि विभिन्न स्थानमा अभियान नै चलेको छ । स्थानीय संस्कृतिको संरक्षण र परम्परागत पञ्चेबाजाको संरक्षणको लागि राईनासमा हालै प्रतियोगिता आयोजना गरिएको छ । राइनास नगरपालिका-५ स्थित दलितमैत्री सामुदायिक भवनको बार्षिकोत्सवको अवसर पारेर राईननासमा पञ्चेबाजा प्रतियोगिताको आयोजना गरिएको हो ।
दलितमैत्री सामुदायिक भवन निर्माण गरेको दुई वर्ष पुगेको छ । उक्त भवनको संरक्षण र उपयोगको लागि भवन संरक्षण समितिले काम गरिरहेको छ । अहिले सोही समितिले पञ्चेबाजा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न वडाबाट सात वटा समूहको सहभागिता थियो । सहभागीहरु आफ्नो पोशाक सहित बाजा प्रतियोगितामा आएका थिए ।
प्रतियोगी समूह मध्येबाट वडा नं. ८ को सुरेश परियारको टोली प्रथम भएको छ भने वडा नं. ८ तार्कुघाटको बलवहादुर परियारको समूह दोस्रो र वडा नं. ५ गोपाल परियारको समूहले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई १० हजार, द्वितीय हुने समूहलाई ८ हजार, तृतीयलाई ६ हजार र सबै सहभागी समूहलाई प्रोत्साहन स्वरुप चाररचार हजार पुरस्कार प्रदान गरिएको आयोजकले बताएको छ ।
नेपाली लोक संस्कृतिमा पश्चिमेली प्रभाव बढ्दै गएपछि पछिल्लो समय मौलिक बाजाका रूपमा रहेको पञ्चेबाजा जगेनामा चुनौति देखिएको भन्दै प्रतियोगिताको आयोजना गरिएको दलितमैत्री सामुदायिक भवन व्यवस्थापन समिति सल्लाहकार पूर्णबहादुर नेपालीले बताउनुभयो । खासगरि पछिल्लो पुस्ताले निरन्तरता दिन चासो देखाएका छैनन् ।
पञ्चेबाजा बजाउन सिकाउन सकिएमा पछिल्लो पुस्ताको आकर्षण बढ्ने उनीहरुको भनाइ छ । विभिन्न ठाउँमा महिला पनि पञ्चेबाजा बजाउन सरिक रहेको पाइन्छ । महिलाहरुले समय निकालेर सिक्न सकेमा आकर्षण अझै बढ्ने प्रतियोगितामा आएका अधिकांशको धारणा छ ।
उसो त महिलाहरु पनि अवसर पाएमा सिक्न सक्ने बताउँछन् । यसको लागि स्थानीय तहले सहजीकरण गरिदिए आफूहरु सिक्न तयार रहेको सोही कार्यक्रममा उपस्थित केही महिलाहरूले बताउनुभयो । ब्याण्ड बाजाको तुलनामा पञ्चेबाजा रुचाउने धेरै छन् । यसले मौलिक संस्कृतिको परिचय दिने राईनासका स्थानीयले बताउनुभयो । आफूहरुलाई पञ्चेबाजा नै अधिक मनपर्ने उनीहरुको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्