कामठाडौं, फागुन २५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र एमालेबीच सहकार्यको संभावना रहेको जनाउ दिनुभएको छ ।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव हुने भन्दै कांग्रेस–एमाले सहकार्यको संभावना औल्याउनु भएको हो । ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।
बिहीबार निर्वाचित हुने राष्ट्रपतिले देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने र देशको अभिभावकको भूमिका वहन गर्नुपर्ने बताउनु भयो ।
ओलीले विगतमा संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको आलोचना गरेको पनि बताउनु भयो । ओलीले भन्नुभयो, ‘संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगर्ने कुरा, एक त राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ठ भनेर जस्तो भएपनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरुले देशका लागि अडेर काम गरे भनेर बिरोध भएको छ ।’
अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीले राम्रो काम गरेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्