जनता टाइम्स

२६ फाल्गुन २०७९, शुक्रबार १३:०६

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ निष्काशन


काठमाडौं, २६ फागुन । सानिमा मिडिल तमोर हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत को ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्तां सेयर र सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर बाँडफाँट गरिसकेको छ । यता सर्वसाधारणका लागि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले बिक्री गर्न लागेको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । यसमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयावधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।