काठमाडौं, फागुन २७ । राष्ट्रपतिको निर्वाचनमा बनाइएको सत्तारुढ गठबन्धन उपराष्ट्रपतिको निर्वाचनमा भने बिभाजित बनेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध तीन दलले उपराष्ट्रपति नछाडने अडान लिएपछि सत्ता गठबन्धनमा बिवाद भई दुई वटै पार्टीले उम्मेदवारी दिने निर्णय गरेका हुन ।
यो अडानसँगै सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टी र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका छन ।
बैठकमा सहभागी जनमत पार्टीका उपाध्यक्षसमेत रहनुभएका खानेपानी मन्त्री अब्दुल खानले आफ्नो पार्टीबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको बताउनु भयो । दुवै दलले अडान नछाडेपछि यस्तो सहमति गरी बैठक टुंग्याइएको थियो ।
शनिबार बसेको ९ दलीय बैठकमा दलहरुले आफ्नो–आफ्नो दाबी गर्दा बैठकले एकल उम्मेदवार उठाउन नसकेको हो । उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भने अझै पनि उम्मेदवारी फिर्ता गराएर सहमतिको प्रयास गर्ने बताउनु भएको छ । तर मधेशका दुई दलबीचको इगोका कारण त्यो संभावना निकै कम रहेको बैठकमै सहभागी नेताहरुले बताएका छन । सत्ता गठबन्धनमा यसअघि नै उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो । तर गठबन्धनबाटै जनमतले पनि दाबी नछाडेपछि समस्या उत्पन्न भएको हो ।
जसपाको केन्द्रीय कार्यकारिणि समितिले यसअघि नै रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाउने भएको हो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले साँसद बन्नकै लागि रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेपछि आफैसँग पराजीत सिके राउत झस्किनु भएको थियो भने कांग्रेस र माओवादीले पनि जसपा बोक्न नसकिने अडान लिएपछि यस्तो अवस्था आएको हो । मधेस प्रदेशमा सरकारमा रहेका दुवै दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएपछि गठबन्धन संकटमा पुगेको हो ।
नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली महिला आन्दोलनमा लामो समय सक्रिय शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्