जनता टाइम्स

४ भाद्र २०७६, बुधबार ०८:५८

किन भइरहेछ आइजीपीमाथि पटक-पटक आक्रमण ?


राधाकृष्ण देउजा

आफ्नो निहित स्वार्थ र कुण्ठाको जगमा जसलाइ जे पनि आरोप लगाउने अनि त्यस्तो फत्तुर आरोपहरु कहीं कतै प्रमाणित हुनु नपर्ने हो ? आज विद्यमान ऐन, कानुनअनुसार पक्राउ परेर अनुसन्धानको निम्ति थुनिएका रवी लामिछानेलाइ जोगाउने वाहनामा समग्र राज्य व्यवस्थाकै खिलाफमा जनमत उठाउने कसरत हुँदैछ । कसैलाइ पक्राउनै गर्न नमिल्ने भन्ने खालका प्रचार गरिंदैछन ।

हो कोही कसैलाइ पनि अनावश्यक रुपमा पक्राउ गर्नु हुन्न । झन कसैले आफैंले आफ्नो हत्या अर्थात आत्महत्या गर्दा कसैलाई त्यसको निम्ति जिम्मेवार ठहर गरेकै हुनाले कोही थुनिनु पर्ने अवस्था ठिक हैन नै । तर त्यसो भन्दैमा कानुनमा रहेको त्रुटी विधिवत रुपमा संशोधन नभएसम्म प्रहरी वा जुनसुकै राजकीय निकायले पनि त्यस कानुनअनुसार आफ्नो कर्तव्य गर्नैपर्छ । अहिले पनि प्रहरीले त्यही नै गरिरहेको छ । आवश्यक छानविन पश्चात मुद्दा अदालतमा बुझाउने छ । सम्मानित अदालतले अन्तिम निर्णय गर्ने हो । विवेकसहित न्याय सम्पादन हुँदा केवल आरोपकै भरमा कोही थुनिने छैन । तथ्य यही नै हो । हुने र हुनुपर्ने पनि यही हो । तर यही घटनालाई उछालेर आफ्ना दमित मनोकामना पुरा गर्ने काम पनि चलेकै छ भन्ने प्रष्ट हुँदैछ ।

हुँदाहुँदा प्रहरीले सदाझैं विद्धमान कानुन कार्यान्वयनको काम गरिरहेको तथ्यलाइ नजरअन्दाज गर्दै वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै हुर्मत लिने र त्यसो गर्दै समग्र प्रहरीको मनोवल घटाउने खेल हुँदै छ । त्यसैले त प्रहरी महानिरिक्षकको वर्दीलाइ लुँगीसंग तुलना गर्ने मात्रै नभएर उनले कुनै अमुक मन्त्रीलाइ करोडौँ रुपियाँ बुझाएर आइजीपी भएको भनेर लेख्नेसम्मका काम भएका छन । आइजीपीको मात्रै हैन, सार्वजनिक पद धारण गरको जोसुकैको आलोचना गर्न पाइन्छ । तथ्य र सत्यमा टेकेर कुनै पनि आरोप पनि लगाउन पाइन्छ । तर के मनोगत रुपमा कुनै आरोप लगाउन पाइन्छ ? किमार्थ पाइदैन । र जाहाँसम्म आइजीपी सर्बेन्द्र खनालले करोडौँ खुवाएर आइजीपी भए भन्ने आरोप, त्यो तथ्यहीन आरोप हो ।

कसैको आग्रह पूर्वाग्रह र कुण्ठाको उपज हो । त्यसैले जसले पनि त्यो लेख्यो उसले आफ्नो आरोप पुष्टि गर्नु पर्छ । अझै आइजीपी सर्वेन्द्र खनाललाइ हिलो छ्याप्न तत्कालिन अवस्थामा आइजीपी प्रतिस्पर्धामा रहेका रमेश खरेलको समेत फोटो जोडेर आफ्नो लेखनीलाइ पुष्ट्याउने कोशिस भएको पनि देखिन्छ । तर त्यस्तो लेख्नेहरुलाइ के थाहा ? स्वयं रमेश खरेललाइ पनि थाहा छ कि सर्बेन्द्र पैसा बुझाएर आइजीपी भएका हैनन भन्ने । यसो भन्दा सर्वेन्द्र खनालको तावेदारी गरको भन्नेहरु पनि प्रकट हुन सक्लान तर त्यस्तो हैन यस्तो दावी गर्नुको पछाडि सर्बेन्द्र खनालको गर्विलो विगत मात्रै आधार हो ।

यद्यपी कसैलाइ त्यस्तो लागेछ भने पनि भने हुन्छ । लेखे हुन्छ, म वहाँहरुलाइ शुभकामना दिँदै सर्वेन्द्र खनाल योग्यता, क्षमताको आधारमा नभएर पैसा खुवाएर आइजीपी भएको प्रमाणित गर्न चुनौती नै दिन चाहन्छु र त्यसो भएमा सार्वजनिक रुपमा आत्माआलोचना गर्दै माफी माग्न तयार रहेको जानकारी गराउन चाहन्छु ।