जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार १८:२७

देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने


काठमाडौं, कात्तिक २० । तिहारमा खेलिने देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले देउसीभैलोलाई मर्यादित र व्यवस्थित बनाउन यस्तो समयसीमा तोकेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीले जारी गरेको सूचनामा सवारी आवागमन र पैदलयात्रीलाई अवरोध नहुने गरी देउसीभैलो खेल्न आग्रह गरिएको छ ।

प्रशासनले पटका, भुइँचम्पा, रकेट तथा आतिसबाजीको प्रयोग, बिक्री वितरण र ओसारपसारमा रोक लगाएको छ । जबर्जस्ती रकम माग्ने, धम्क्याउने तथा अभद्र व्यवहार गर्न पनि निषेध गरिएको छ ।

त्यस्तै, निजी घर तथा कार्यालयमा देउसीभैलो खेल्नुअघि अनुमति लिनुपर्ने, बालबालिकालाई अभिभावकको निगरानीमा राख्नुपर्ने र सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ ।

सूचनाविपरीत गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।