जनता टाइम्स

२९ फाल्गुन २०७९, सोमबार १७:२३

एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङ चयन


काठमाडौँ, २९ फागुन । नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित हुनुभएको छ । संसदीय दलको नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार उपनेतामा मनोनित गर्नुएको हो । २०७४ सालको चुनावपछि पनि नेम्वाङ नै एमाले संसदीय दलको उपनेता बन्नुभएको थियो ।

इलाम २ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुनुहुन्छ। २०५१ सालमा न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री भएका नेम्वाङ २०६३ मा पुनर्स्थापित प्रतिनिधिसभाको सभामुख र पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष रहनुभएको थियो । गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित हुनुभएको थियो ।

आइतबार मात्रै अध्यक्ष ओलीले संसदीय दलको प्रमुख सचेतकमा पर्वतका सांसद पदम गिरी र सचेतकमा मकवानपुर २ का सांसद महेश बर्तौलालाई नियुक्त गर्नुभएको छ ।