काठमाडौं, चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी अनुसन्धानको प्रतिवेदन प्रहरीले बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले राहदानीसम्बन्धी अनुसन्धान सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो।
यसबारे सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ। प्रहरीले लामो समय अनुसन्धान गरेर केही दिन अघि बुझाएको हो। अमेरिकी राहदानी भएकै बेला निष्क्रिय रहेको नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी पनि लिएको आरोप छ।
झूटा विवरण पेश गरी नेपाली राहदानी लिएको भन्दै उहाँविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको थियो। त्यसअघि रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका कारण सर्वोच्चमा रिट दायर भएको थियो।
उक्त रिटमा फैसला गर्दै गत माघ १३ गते अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। त्यतिबेला उहाँ उपप्रधान एवं गृहमन्त्री समेत हुनुहुन्थ्यो । त्यसपछि उहाँले राजीनामा दिनुभएको थियो । लामिछानेले अदालतको फैसलापछि नागरिकता पुनः प्राप्ति गरिस्क्नु भएको छ । यस्तै निष्क्रिय भएको नागरिकताबाट राहदानी पनि फिर्ता गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्