जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १०:५१

लमजुङ दरबारको पुनर्निर्माण गरिँदै


लमजुङ, ३ चैत । शाहवंशीय राजाहरूको उद्‍‌गमस्थलको रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण धमाधम भइरहेको छ । पुरातात्विक विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुननिमार्ण कार्य २ वर्षमा सक्ने लक्ष्यका साथ निर्माणकार्य सुरु गरेको हो । ०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरि दरबार भत्काइएको कालीका मन्दिरका पूजारी सोमराज बरालले बताउनुभयो । उहाँका अनुुसार मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्म, महाकाली, महासरस्वती र महालक्ष्मी लगायतका देवी देवताको मूर्ति नयाँ भवनमा क्षमा पूजा गरि सारिएको छ ।

दरबारको पुनर्निमार्ण कार्य गरिदा पुरानै स्वरुपमा इँटा, ढुंगा, काठ, तामाको प्रयोग हुने बताइएको छ । दरवारको छाना तामाको हुनेछ ।
२०७२ सालको भुकम्पले चर्केको लमजुङ दरवारमा २ पटक चटयाङले थप जीर्णअवस्था पुगेको थियो । पानी चुहिने अवस्थामा जीर्ण रहेको दरबारको पुननिमार्णका लागी पुरातात्विक विभागका डा। जगमान गुरुङको टोलीले गत वर्ष अवलोकन समेत गरेका थिए ।

२ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुरानै स्वरुपमा निमार्ण गरिने दरबारको लागी यस वर्ष एक करोड १४ लाख रुपैयाको लागतमा एस के कन्स्ट्रक्सन भक्तपुरले दरवारको निमार्ण कार्य सुरु गरेको हो । १५५० सालमा यशोब्रह शाहको पालामा निमार्ण गरिएको लमजुङ दरवार १८२० मा पुनर्निर्माण गरिएको थियो । त्यसपश्चात १९९० को भुकम्प पश्चात १०९२ मा जीर्णोउद्धार गरिएको थियो । लमजुङ दरवार २०४६ सालमा पुनर्निमार्ण गरिएको हो । शाहवंशको शुरुवात लमजुङका यशोव्रह्म शाहको पालाबाट भएको मानिन्छ ।