जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार ११:४०

भूकम्पबाट क्षति भएका १७ घर निर्माण गरिँदै


लमजुङ ३ चैत । जिल्लामा क्रियाशिल गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ । परियोजनाअन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वटा घर पुनर्निर्माण थालेको हो । जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्र्याङदी गाउँपालिकामा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म चारवटा घर निर्माण सम्पन्न भएको लमजुङ पनर्लाभ परियोजनका कार्यक्रम संयोजक हेमराज बिमलीले बताउनुभयो ।

२०७८ जेठमा गएको भूकम्पबाट क्षति पुगेका घर मध्ये बेसीशहर र मर्स्याङ्दीमा दुई–दुई वटा घरको निमार्ण कार्य सम्पन्न भएको हो । परियोजनाअन्तर्गत निमार्ण सम्पन्न बेसीशहर ३ गाउँशहर थुम्का डाँडा स्थित फुलमाया सार्कीको घर र बेसीशहर ३ कै चन्द्रकला परियारको घर अनुगमन गरिएको छ । १३ लाख ५४ हजार ३६६ रुपैयाँ ८७ पैसा लागतमा दुई घर निमार्ण गरिएको आरसिडिसिका सेल्टर इन्जिनियर रवि थापाले बताउनुभयो ।

परियोजना अन्तर्गत मर्स्याङदी गाउँपालिकामा नौवटा र बेसीशहरमा पाँचवटा गरी १२ वटा घर निर्माण भइरहेको छ । परियोजना संयोजक विमलीका अनुसार अगामी तिन महिना भित्रमा १७ वटा घरको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । संस्थाले भूकम्प पीडितका घर निर्माणका लागि ६ करोड ४३ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये दुई करोड ४८ लाख ३१ हजार पाँच सय १९ रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ । भूकम्प प्रतिरोधी आवास निर्माण तर्फ ३ करोड १४ लाख ८ हजार ८९५ रुपैयाँ खर्च भएको छ ।