जनता टाइम्स

५ चैत्र २०७९, आईतवार ०८:१८

बाजुरामा आलु पाठशाला सञ्चालन


बाजुरा, ५ चैत । बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ। ढम्कने गाउमा १ सय बढी घर परिवार छन्। ती सबैको आम्दानीको मुख्य स्रोत भनेको आलु हो। जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकालगायत कर्णाली प्रदेशका हुम्ला मुगु र कालीकोट जिल्लाका केही स्थानीय तहको आवत–जावत गर्ने मुख्य बाटोमा पर्ने ढम्कने गाउँका स्थानीय आलुका परिकार बेचेर आम्दानी गरिरहेका छन्।

तर, परम्परागत रूपमा गरिएको आलु खेतीले उत्पादन नबढेपछि, त्यहाँ आलु पाठशाला सञ्चालन गरिएको छ। बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले ढम्कनेका स्थानीयलाई आलुमा आत्मनिर्भर बनाउन कृषि पाठशाला सञ्चालन गरेको बताउनुभयो । गएको मंगलबार कृषि ज्ञान केन्द्र बाजुराले दक्ष प्राविधिक ल्याएर किसानको खेतबारीमै आलु लगाउने विधि सिकाएको कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताउनुभयो।

आलुको जात पहिचान गर्ने र विउ प्रमाणीकरणका लागि आलुको अनुसन्धान, आलु बालीमा लाग्ने रोग किराको व्यवस्थापन र कम्पोस्ट मल बनाउने तरिका, आलुका प्रजाति, उत्पादन क्षमता लगायतका बारेमा खेतबारीमै पुगेर किसानलाई सिकाइएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो । ढम्कनेका कृषकहरूले बर्सेनि आलु खेती गर्दै आएका भएपनि अपेक्षा अनुसारको आलु उत्पादन गर्न नसकेकोले आलुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने उद्देश्यले बाजुरा जिल्लाका भिन्न–भिन्न ३० ठाउँबाट आलुका बीउ संकलन गरी कृषकहरूको खेतबारीमै कृषक पाठशाला सञ्चालन गरेर लगाइएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताउनुभयो ।

आलु धेरै फले पनि बजारीकरण नहुने ढम्कनेको आलु २०७६ कात्तिकमा आलु महोत्सव नै गरेका थिए । महोत्सवपश्चात् ढम्कनेको आलुु पोखरा, काठमाडौं, धनगढी लगायतका सहरहरूमा जाने गरेको छ। यसरी देशका ठूला सहरमा आलुको माग भएपछि स्थानीयहरू आलु खेतीमा हौसिएका छन्।

हाल ढम्कनेमा १ जना किसानले २० देखि ६० क्विन्टलसम्म आलु फलाउने गरेका छन् । आलु उत्पादन गरेर बजारीकरणभन्दा पनि किसानलाई आलुका परिकारहरू बनाउने तालिम दिएर बिभिन्न परिकार बनाउन सिकाइने वडा अध्यक्ष पाध्यायले बताउनुभयो।

आलुका परिकारमा आलु चिप्स, मम, खीर, समोसा र पकौडालगायत ३० वटा परिकार बनाउने गरी आम्दानीको स्रोत बनाउने उद्देश्य रहेको पाध्यायले बताउनुभयो । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।