जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १९:३१

रवि लामिछानेबिरुद्ध मुद्दा चलाउन नपर्ने सरकारी वकिलको निर्णय


काठमाडौं, चैत ५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहादानी दुरुपयोग प्रकरणमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने निर्णय गरेको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले फागुन ३० गते नै राहानदी दुरुपयोग प्रकरणमालामिछानेबिरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको पाइएको हो ।

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पठाएपछि जिल्ला सरकारी वकिल कार्यालयले यस्तो निर्णय गरेको हो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले उक्त निर्णय गरिएको बताउनु भएको छ ।

प्रहरीले अनुसन्धान गरेको प्रतिवेदनका आधारमा लामिछानेले नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको भन्ने प्रमाणहरू भेट्न नसकिएको सरकारी वकिलको भनाई छ । जिल्ला सरकारी वकिल कार्यालयले सदरका लागि फाइल उच्च सरकारी वकिल कार्यालय पठाएको छ ।

उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्छ । अन्य उच्च सरकारी वकिल कार्यालयले मुद्दा चलाउनुपर्ने लागेमा जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने छ । महान्यायधिवक्ता कार्यालयले मुद्दा चलाउनुपर्ने वा जिल्ला र उच्च सरकारी वकिल कार्यालयको निर्णय सदर गर्नुपर्छ ।

विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै लामिछानेबिरुद्ध मुद्दा चलाउनु पर्नै भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो ।

लामिछानेको दलले सरकारलाई समर्थन कायम राखेको कारण सरकारी वकिलको कार्यालयले यस्तो निर्णय लिएको आशंका गरिएको छ । यसअघि दोहोरो राहादानी भएको पाइएमा मुद्दा दायर गर्ने गरिएको थियो ।