जनता टाइम्स

६ चैत्र २०७९, सोमबार १५:२०

प्रधानमन्त्री प्रचण्डलाई बिष्णु पौडेलको कठोर प्रश्न


काठमाडौं, चैत ६ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस १० गते भएको सहमति किन तोडेको भनेर प्रश्न गर्नुभएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत मागेपछि बोल्दै पौडेलले यस्तो प्रश्न गर्नुभएको हो ।

‘तपाईंलाई त्यस्तो के कारण पर्यो ? जुन कारण त्यो सहयात्राबाट आज यो सहयात्रामा फर्किनुभएको छ ? तपाईंलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते त्यो सहमतिमा किन पुग्नुभयो ? आज जवाफ नदिन सक्नुहुन्छ । तर, तपाईंलाई इतिहासले निरन्तर प्रश्न सोधिरहन्छ,’ पौडेलले भन्नुभयो ।

प्रचण्ड सरकारमा एमालेबाट नेतृत्वसमेत गर्नुभएको पौडेलले प्रधानमन्त्री बन्न एमाले चाहिए पनि दुई महिना नपुग्दै सहयात्राप्रति दुरी कायम गर्नुपर्ने कारण किन आयो भन्दै कडा प्रश्न पनि गर्नुभयो ।

‘हामी निर्वाचनबाट पहिलो पार्टी बन्न नसकेपछि गठबन्धनले सरकार बनाओस भन्ने पक्षमा थियौं । हामी प्रतिपक्षमा रहन्छौं । जनताको माग र मुद्दा प्रतिपक्षमा रहेर उठाउँछौं । यो दृष्टिकोणको साथ हामीहरु लामो समयसम्म प्रतिक्षा गरेर बस्यौं’, पौडेलले भन्नुभयो, ‘कुनै लुकेको कुरा छैन। जब गठबन्धनले सरकार दिन सकेन । राष्ट्रपतिज्यूले उलपब्ध गराउनुभएको समयमा सरकार बनाउन नसकेपछि प्रचण्डले एमालेलगायत दलको समर्थन चाहियो । म प्रधानमन्त्री बन्न चाहन्छु भन्नेपछि हामीले ससर्त समर्थन दिएका थियौं ।’

पौडेलले प्रचण्डको अस्थिर चरित्रका कारण मुलुकले दुःख पाइरहेको तथ्य पनि उजागर गर्नुभएको छ ।