जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ०९:१८

फिल्महलमा अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने


काठमाडौं, भदौ ५

संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य रूपमा राष्ट्रिय गान बजाउनुपर्ने भएको छ । असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सम्पूर्ण फिल्म हललाई त्यस्तो निर्देशन दिएको हो ।

राष्ट्रिय गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने जानकारीसमेत गृहले दिएको छ । ‘बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा फिल्म हललाई संविधान दिवसका दिनदेखि अनिवार्य रूपमा सधैंलाई राष्ट्रिय झन्डा फहराउन र राष्ट्रिय गान बजाउन निर्देशन दिएको छ,’ गृह प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘राष्ट्रिय गानको मर्यादा राख्न सबै उभिनैपर्छ, त्यो भनिरहनै पर्दैन ।’

राष्ट्रिय झन्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ अनुसार सरकारले चलचित्र सुरु हुनुअघि राष्ट्रिय गान बजाउन अनिवार्य गरेको हो । ‘कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य सम्मान, खेलकुद समारोह र विद्यालय प्रार्थनामा राष्ट्रिय गान गाउनुपर्ने छ । रेडियो र टेलिभिजनमा सम्पूर्ण कार्यक्रमको सुरुमा र अन्त्यमा राष्ट्रिय गान बजाउनुपर्ने छ । राष्ट्रिय गान अवधिभर सबैलाई उभिन अनिवार्य रूपले अनुरोध गर्नुपर्ने छ । सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शनका क्रममा कार्यक्रमको प्रारम्भ तथा समापनका समयमा राष्ट्रिय गान तथा धुन बजाए वा गाएमा उपदफा (१) बमोजिम सम्मान गर्नुपर्ने छ,’ राष्ट्रिय झन्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ मा भनिएको छ ।

कार्यविधिको उपदफा (१) मा ‘राष्ट्रिय गान या धुन बज्दा सबैले सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने’ उल्लेख छ । सरकारले संघीय संसद्मा पेस गर्न तयार गरेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’ मा समेत सबै फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था गरेको छ ।

बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति र त्यस मातहत विभिन्न उपसमिति गठन गरेको छ । प्रवक्ता सुवेदीका अनुसार समितिले यस वर्ष राष्ट्रिय झन्डालाई उच्च प्राथमिकता दिएर संविधान दिवस मनाउने निर्णय गरेको हो । बैठकमा गृहसचिव प्रेमकुमार राईले विगतभन्दा फरक रूपमा कार्यक्रम थप गरी एकता, समृद्धि र अठोटको प्रतीक राष्ट्रिय झन्डालाई शिरमा राखेर दिवस मनाउने तयारी थालिएको जानकारी गराएका थिए ।

सरकारले उपत्यकामा रहेका सम्पूर्ण राष्ट्रसेवकलाई राष्ट्रिय झन्डा बोकेर संविधान दिवसका दिन टुँडिखेलको सैनिक मञ्चमा राष्ट्रपतिको समुपस्थितिमा हुने विशेष कार्यक्रममा सहभागी हुन उर्दी जारी गरेको छ । ‘काठमाडौं उपत्यकामा रहेका सबै निजामती कर्मचारीलाई संविधान दिवस मनाउन सिंहदरबारमा भेला भई राष्ट्रिय झन्डा बोकेर मार्चपास गरी सैनिक मञ्चमा हुने विशेष कार्यक्रममा सरिक हुन निर्देशन दिइएको छ,’ सुवेदीले भने । हेलिकप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रमसमेत राखिएको छ ।

सुवेदीका अनुसार काठमाडौं उपत्यका बाहिरका राष्ट्रसेवकका हकमा प्रदेश सरकार, जिल्ला सदरमुकाम र स्थानीय सरकारले मनाउने संविधान दिवस कार्यक्रममा सरिक हुन निर्देशन दिइएको छ । मूल समारोह समितिले ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झन्डा फहराऔं’ भन्ने नारा तय गरेको छ ।

‘उक्त नारा मोबाइल सन्देशमार्फत हरेकलाई पठाइन्छ, झन्डाको रङका पोसाक, चंगा आदि निर्माण गर्ने र घरघरमा झन्डा राख्न आहवान गर्ने तथा हरेक कार्यक्रममा झन्डा फहराइनेछ, कार्यक्रम झन्डामय हुन्छ,’ गृहसचिव राईले बैठकमा भनेका थिए । संविधान दिवसमा आयोजना हुने र्‍यालीलाई समेत झन्डामय बनाइनेछ । बैठकमा प्रधानमन्त्री ओलीले संविधान दिवसलाई झन्डामय बनाउन लागिएकामा खुसी व्यक्त गर्दै झन्डाले राष्ट्रिय एकता र उपलब्धिलाई मौन ढंगले दृढतापूर्वक अभिव्यक्त गर्ने बताए । उनले मुटुको अगाडि र पछाडि पर्ने गरी पोसाक बनाएरसमेत लगाउन सर्वसाधारणलाई आहवान गरेका छन् ।

उनले झन्डालाई घरमा, हातमा या शिरमा राखेर सम्मानपूर्वक प्रयोग गरी राष्ट्रिय उत्सव मनाउन भनेका छन् । समितिले संविधान दिवसलाई झन्डामय बनाउन आवश्यक सहयोग गर्न निजी क्षेत्र र सम्पूर्ण सामाजिक संघसंस्थालाई आहवान गरेको छ । समितिले झन्डा कागज वा कपडाको मात्र प्रयोग गर्न आहवान गर्दै प्लास्टिकको बनाउन निषेध गरेको छ ।

संविधान दिवसको शुभकामना, एसएमएसका साथै डिस्प्ले बोर्डमा समेत झन्डा फहराउन र राष्ट्रिय गान बजाउन लगाउने तथा उपत्यकाभित्र सरकारी कार्यालय तथा महानगर नगरपालिकाले राष्ट्रिय झन्डा सजाएर नगरको शृंगार तथा सजावट गर्न तथा राष्ट्रिय झन्डा रिले दौड र क्रिकेट प्रतियोगिता गर्नसमेत समितिले आहवान गरेको छ । विभिन्न मठमन्दिर, बौद्ध विहार, चर्च, मस्जिद र गुरुद्वारामा राष्ट्र, राष्ट्रियता र संविधानका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको आत्मशान्तिका लागि पूजापाठ र प्रार्थना गर्नसमेत आहवान गरेको छ ।

सुवेदीका अनुसार समितिले स्कुल तथा कलेजमा राष्ट्रिय झन्डा तथा राष्ट्रभक्तिको विषयमा कविता, वक्तृत्वकला, हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्न, सार्वजनिक चोकमा राष्ट्रिय गान तथा राष्ट्रभक्तिका गीत, कन्सर्ट आयोजना गरी महोत्सव गर्ने व्यवस्था मिलाउन पनि आहवान गरेको छ । (कान्तिपूर)