जनता टाइम्स

७ चैत्र २०७९, मंगलवार १७:२९

एआइजी ज्ञवालीको पद धरापमा, तत्काल छानविन गरी प्रतिवेदन बुझाउन गृहलाई अख्तियारको निर्देशन


काठमाडौं, चैत ७ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली बढुवा भएकै दिन छानविनमा पर्नुभएको छ ।

प्रहरी नायव महानिरीक्षक (डिआइजीपी) बाट एआइजीमा बढुवा भएकै दिन ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीसहित ५ जना डिआइजीलाई एआईजीमा बढुवा गरेको थियो । एआइजी ज्ञवाली कोशी प्रदेशको प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ । उमेर ढाँटेर जागिर खाएको प्रमाणसहित उजुरी परेपछि अख्तियारले कारबाही प्रक्रियाका लागि चासो देखाउँर्द गृहलाई छानविनका लागि निर्देशन दिएको हो ।

कैलालीका शेरबहादुर चन्दले ज्ञवालीविरुद्ध गत फागुनको दोस्रो साता अख्तियारमा उजुरी गर्नुभएको थियो । अख्तियारले प्रहरीका उच्च अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण मागेर अध्ययन गर्न केही शंकास्पद डीआईजीको शैक्षिक प्रमाण पत्र र नागरिकता विवरण मागेकोमा ज्ञवालीमाथि थप छानबिन आवश्यक परेपछि विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन सोमबार साँझ गृहलाई निर्देशन दिएको थियो ।

ज्ञवालीले २५ वर्ष १० दिनमा इन्सपेक्टरमा भर्ना भएको अख्तियारको छानबिनमा देखिएको छ । तर, प्रहरी नियमावलीअनुसार इन्सपेक्टरमा भर्ना हुन २० वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्छ । २०५० मंसिरको विज्ञापनअनुसार इन्सपेक्टरमा भर्ना हुनुभएका ज्ञवालीको नागरिकताअनुसार १० दिन बढी नाघेको पाइएपछि गृहलाई छानबिन गर्न भनिएको हो ।

उहाँले सुरूमा प्यूठान जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको र पछि आएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रतिलिपि लिएको उजुरीमा उल्लेख छ । नागरिकतामा ज्ञवालीको जन्ममिति २०२४ चैत २१ रहेकोमा सिटरोल र शैक्षिक योग्यतामा भने २०२५ भदौ २६ रहेको बताइएको छ । उनको जन्ममिति ५ महिना ५ दिन फरक रहेको उजुरीमा दावी छ ।

अख्तियारले ज्ञवालीमाथि छानविन गरी प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई एक महिनाको समय सीमा तोकेको छ ।