जनता टाइम्स

८ चैत्र २०७९, बुधबार १०:३७

सत्ता गठबन्धनमा रडाको, कमाउ मन्त्रालयमा सवै दलको अडान


काठमाडौं, चैत ८ । सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डाको रडाको मच्चिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन गृहकार्य थालेपछि सवै दलले कमाउ र आकर्षक मन्त्रालय चाहिने अडान राखेपछि गठबन्धनमा रडाको मच्चिएको हो ।

२५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री प्रचण्डले सांसदका आधारमा दशदलीय गठबन्धनमा भागबन्डा मिलाउने गरी प्रस्ताव राख्नुभएको छ । आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समावेश गराउने गरी प्रधानमन्त्रीले भागबन्डाको खाका बनाउनु भएको छ ।

सांसदहरुको संख्याको आधारमा भागबन्डा मिलाउँदा १० मन्त्रालय दाबी गरेको नेपाली कांग्रेसलाई ८ वटा दिने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव छ । यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ४ मन्त्रालय राख्दा यसअघि तीन मन्त्रालय नपाएको जसपा र तीन वटै मन्त्रालयको दाबी गरिरहेको नेकपा एकीकृत समाजवादीलाई २ २ वटा मन्त्रालय दिने प्रस्ताव राख्नुभएको छ ।

यस्तै प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको खण्डमा तीन वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ । रास्वपाका अध्यक्ष रवि लामिछानेकोराहादानी मुद्दा ढिसमिस पारेकोले सो पार्टी जति मन्त्रालय पाएपनि सरकारमा जाने अवस्थामा छ ।
यस्तै जनमतलाई एक मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ ।

यस्तै नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई एकएक वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ ।
सत्ता गठबन्धनमा सामेल जनमोर्चा भने सरकारमा नगएरै अन्य आर्थिक लाभ लिने योजनामा रहेको छ ।